काठमाडौं।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धानको उत्पादन बढाइ खाद्य सुरक्षा कायम गर्ने र आत्मनिर्भर बन्ने सरकारको प्राथमिकताको विषय रहेको बताएका छन् ।
धान सम्बन्धी अध्ययन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्था इरीको एशिया निर्देशक डा.जोङ्ग सू सँग बिहीबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले उत्पादकत्व बढाउने र बढ्दो लागत घटाउने तर्फ मन्त्रालयले काम गरिरहेको बताए ।
सरकारले मल, बीउ, प्रविधि, यान्त्रिकीकरण, भण्डारण सुविधा, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन, धान चामल उद्योगसँग सहकार्य गर्ने लगायतका सक्दो प्रयासहरू गरिरहेको पनि मन्त्री अधिकारीले उल्लेख गरे । उनले पछिल्लो समय जलवायु परिवर्तनको कारण धान उत्पादनमा प्रत्यक्ष असर पर्न थालेका कारण बढी उत्पादन दिने जलवायु अनुकूलनका धानका जातहरूको विकासमा इरीले महत्त्वपूर्ण योगदान गरेकोमा इरीको प्रशंसा गरे ।
भेटका क्रममा इरीका एशिया निर्देशक जोङ्ग सूले इरीलाई नेपाल सरकारबाट प्राप्त भएको सहकार्यका लागि आभार व्यक्त गर्दे आगामी दिनमा इरीसँगको सहकार्यमा थप वृद्धि हुने अपेक्षा व्यक्त गरे ।













