लम्पी स्किनलाई महामारीका रूपमा घोषणा गर्न माग

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेका सांसद महेश बर्तौलाले पशु चौपायामा लाग्ने लम्पीस्किन रोग महामारीका रूपमा फैलिएको भन्दै सरकारले रोग नियन्त्रणका लागि आवश्यक कदम चाल्न माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक समेत रहेका बर्तौलाले गत वर्ष मात्रै यो रोगबाट ७० अर्ब रुपैयाँको क्षति भएको जानकारी दिए ।

उनले यो वर्ष पनि उक्त रोग फैलिरहेको भन्दै यसको रोकथामका लागि सरकारलाई आवश्यक भ्याक्सिन प्रबन्ध गर्न र महामारीका रूपमा घोषणा गरेर काम गर्न सरकारसँग माग गरे ।

‘लम्पीस्किन रोगबाट पशु चौपायाको मृत्युको सङ्ख्या बढेको छ । असार र साउनमा मात्रै ३३ हजार बढी गाइभैंसी संक्रमणबाट प्रभावित र १२१९ वटाको मृत्यु भएको पाइएको छ’, बर्तौलाले भने, ‘गत आर्थिक वर्षको अन्तसम्म झन्डै ७० अर्बको क्षति भएको छ। पशुपालनमा ३५ लाख किसान छन् । यो पटक पनि ठुलो क्षति हुनसक्ने देखिएको छ तर सरकारले आवश्यक भ्याक्सिन उपलब्ध गराउन सकेको छैन । अव सरकारले यसलाई महामारीको रूपमा घोषणा गर्न सरकारसँग माग गर्दछु ।’

  • ६ भाद्र २०८२, शुक्रबार १६:०१ प्रकाशित