काठमाडौं ।
टप इन्ड टी-२० सिरिज अन्तर्गत नेपालले सोमबार आफ्नो तेस्रो खेल खेल्दैछ । नेपाली समयअनुसार सोमबार बिहान ७स्१५ बजे अस्ट्रेलियाको नर्दन टेरिटोरीमा रहेको डार्विनस्थित टीआईओ स्टेडियममा हुने खेलमा नेपालले अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन् । अर्कोतर्फ, बिग ब्यास लिग खेलिसकेका साम हार्पर मेलबर्न स्टार्सका कप्तानका रूपमा मैदान उत्रिनेछन् ।
नेपालले हालसम्म सिरिजमा खेलेका दुवै खेलमा हार बेहोरेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो । आज नेपाल पहिलो जितको खोजीमा हुने छ ।
मेलबर्न स्टार्सले भने दुई खेलमा एक हार र एक जित निकालेको छ । पहिलो खेलमा मेलबर्न रेनेगेड्ससँग ४ रनले पराजित भएको स्टार्सले दोस्रो खेलमा होबार्ट हरिकेन्सलाई पराजित गरेका थियो । मेलबर्नसमेत नेपाललाई पराजित गर्दै तालिकाको माथिल्लो स्थानमा उक्लन चाहन्छ ।















