भारतीय विदेश सचिव मिस्री काठमाडौंमा, भेटघानमा व्यस्त हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतका विदेश सचिव विक्रम मिस्री आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका हुन् ।

विदेश सचिव मिस्री नेपालको औपचारिक भ्रमणमा आएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । मिस्रीले बिहान साढे १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट्ने कार्यक्रम छ । त्यसपछि उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने छन् ।

विदेश सचिव मिस्रीले आजै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ । देउवालाई भेट्न उनी बूढानीलकण्ठ पुग्नेछन् । यस्तै, उनले माओवादी अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गर्ने छन् ।

विदेश सचिवको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ अघि बढाउने अवसरका रूपमा लिइएको दूतावासले उल्लेख गरेको छ । यो भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तय हुने अनुमान गरिएको छ ।

  • १ भाद्र २०८२, आईतवार १०:२५ प्रकाशित