पोखरा ।
पोखरा –९, शिवटोल बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा हिमालयन आँखा अस्पतालले १ दिने निशुल्क आखा शिविर सञ्चालन गरेको छ ।
हिमालयन आँखा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष एवम् वरिष्ट अधिवक्ता सुरेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा अस्पतालका प्राविधिक सहितको टोलिले १९७ जनाको आँखा परीक्षण गरेको थियो ।
विद्यालयको समग्र अवस्थाको जानकारी सहित विद्यालयमा नेत्र सम्वन्धी क्षेत्रमा निशुल्क सेवा प्रदान गर्ने हिमालयन आँखा परिवारलाई धन्यवाद व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा विद्यालयका निवर्तमान संयोजक तथा पोखरा –९,का जनप्रतिनिधी नन्दराम गिरिले पनि मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा समाज रुपान्तरणको पहिलो चरण नै शिक्षा भएको हुँदा सवैले शिक्षा गुणस्तरीय र बालमैत्री हुनुपर्नेमा जोड दिदै स्वस्थ्य अँखा भएमा सिकाई प्रभावकारी हुने बताए ।
कार्यक्रममा प्रमुख अतिथी एवम् वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले विपन्न बस्तिका बालबालिकाहरुलाई निशुल्क रुपमा सेवा गर्ने अवसर प्रदान गरेकोमा विद्यालयलाई धन्यवाद व्यक्त गरे ।
सोहि क्रममा विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई आगमी दिनमा पर्ने आँखा सम्वन्धी समस्याहरु पैदा भएको खण्डमा विद्यालयको सिफारिस सहित अस्पतालमा आएमा मिल्ने सम्म छुट सहित सहुलिएत प्रदान गर्ने प्रतिवद्दता व्यक्त गरे ।
सोही क्रममा भारतको राजधानी दिल्लीको एक विपन्न बस्तीबाट वर्षेनी डाक्टर, इन्जिनियर हरु दिक्षित हुने गरेको उदाहरण दिदैं हिलोमा नै कमल फूल्दछ र यस्तै विपन्न र अव्यवस्थित बस्तिका बालबालिकाहरुलाई भविष्यमा राज्यको सक्षम र सबल नागरिक हुन प्रेरित गरे । साथै सामुदायिक विद्यालयमा विद्यार्थीको तुलनामा शिक्षकको सङ्ख्या धेरै हुने गरेको अवस्थालाई चरितार्थ गर्दै सहारा विद्यालयका विद्यार्थीहरुको सङ्ख्या र शैक्षिक उपलब्धि देख्दा खुशी लागेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले विपन्न तथा अव्यवस्थित वस्तिका बालबालिकाहरुलाई स्वास्थ्य उपचार पहुचयोग्य हुने अवस्थामा नरहेको अवस्थामा हिमालयन आँखा अस्पताले निशुल्क रुपमा आँखा शिविर सञ्चालन गरि आवश्यक बालबालिकाहरुलाई निशुल्क रुपमा चस्मा समेत प्रदान गरेकोमा खुशी ब्यक्त गरे । यस्तै डा.मनेन प्रसाद गोर्खालीलाई स्मरण गर्दै उनको समन्वयमा कार्यक्रम सञ्चालन गर्न पाउँदा हर्षित भएको बताउँदै उपस्थित सहयोगी दाताहरु, बिभिन्न संघ संस्थाका पदाधिकारीहरु, शिविर सञ्चालन गर्ने प्राविधिक टिम लगाएत शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरे ।
विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रममा विशेष अतिथी पोखरा महानगरपालिका वडा नं ९, का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, विद्यालयका सल्लाहकार एवम् समितका पदाधिकारीहरु, सहारा क्लबका कार्यसमिति एवम् पुर्व पदाधिकारीहरु, छिमेकी टोल बिकास संस्था तथा आमा समूहका पदाधिकारिहरुका साथसाथै अभिभावक, शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।













