अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

केन्द्रभाग मिडिया

पोखरा ।

अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न वर्षात्को समयमा पनि दैनिक पर्यटक आउने क्रम निरन्तर चलेको छ । मनसुनको याम भए पनि दैनिक ५० जनाभन्दा बढी पर्यटक अहिले पनि अन्नपूर्ण आधार शिविर आउने गरेका छन् ।

छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका यस याममा छिटोछिटो फुल्ने। र ओइलाउने बुकी फूलका साथै विभिन्न प्रजातिका फूल एवं यहाँ देखिने हरियाली र खोलानालाले यहाँ आउने जोकोहीलाई पनि लोभ्याउने गर्छ ।

पदयात्रा पर्यटनका क्षेत्रमा विश्वका उत्कृष्ट पदमार्गमध्येमा अन्नपूर्ण आधार शिविर जाने पदमार्गले चासो र चर्चा कमाएको छ । मनसुनका समयमा पनि पर्यटक आगमन भइरहँदा यहाँका पर्यटन व्यवसायी उत्साहित छन् ।

झण्डै साढे चार दशक अघिसम्म यस क्षेत्रमा आउनुपर्दा पर्यटकले यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता थियो । अहिले यहाँ बनेका सुविधा सम्पन्न होटेलका कारण त्यो बाध्यता हटिसकेको सचिव गुरुङ बताउँछन्।

केही वर्ष अघिसम्म यस पदमार्गमा पर्ने सिनुवा, बाम्बो, हिमालय, दोभान, देउराली, माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविरमा २६ होटेल सञ्चालनमा थिए ।

अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना ९एक्याप०द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार यसअघि प्रत्येक होटेलमा ६ का दरले एक सय ५६ कोठा थिए । तर पछिल्लो समयमा पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै यहाँ होटेल स्तरोन्नतिसँगै होटेल विस्तार गरिएका छन् ।

पछिल्लो समयमा सिनुवा र यसभन्दा माथि ३४ होटेल सञ्चालनमा आइसकेका सचिव गुरुङले जानकारी दिए । होटेलको संख्या बिस्तारसँगै यहाँ पर्यटक लक्षित सुविधा पनि बृद्धि गरिएको छ । पछिल्लो समयमा पदमार्ग अन्तर्गतका सिनुवामा चार, बाम्बोमा छ, हिमालयमा तीन, देभानमा पाँच, देउरालीमा पाँच, माछापुच्छ्रे आधार शिविरमा पाँच र अन्नपूर्ण आधार शिविरमा ६ होटेल सञ्चालनमा छन् ।

पर्यटकको आगमनलाई लक्षित गरी यहाँका व्यवसायीले पदमार्ग नियमित रूपमा सरसफाइ गर्ने गरेका छन् । सामान्यतः असार पहिलो हप्ता र साउन अन्तिम हप्ता यस पदमार्गमा नियमित सरसफाइ गर्ने गरिएको छ । चैत–वैशाखको मुख्य पदयात्राको यामसँगै त्यस यता पदमार्गमा हुने गरेको फोहोरलाई असारको पहिलो हप्तामा सफा गर्ने गरिएको छ । यस वर्ष मात्रै उक्त पदमार्ग क्षेत्रबाट २९० बोरा सिसा तथा प्लास्टिकजन्य फोहोर संकलन गरी पोखरास्थित ग्रिन वेष्ट म्यानेजमेन्ट जोनमा पठाइएको सचिव गुरुङले जानकारी दिए ।

भदौ पहिलो सातादेखि पर्यटकको चहलपहल बढ्ने पर्यटन व्यवसायी बताउँछन् । पर्यटक आगमन बढ्ने उक्त समयलाई लक्षित गरी तयारी थालिएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले प्रत्येक वर्ष अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्तर्राष्ट्रिय अन्नपूर्ण म्याराथन गर्दै आएको छ ।

अन्नपूर्ण आरोहण दिवसका अवसरमा २०७५ सालदेखि म्याराथन प्रतियोगिता गरिँदै आएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए ।

हालसम्म पाँचौँ संस्करणको अन्नपूर्ण म्याराथन सम्पन्न गरिसकिएको जानकारी दिँदै उनले यसले पनि यस क्षेत्रको पदयात्रा पर्यटनलाई स्वदेश एवम् विदेशमा प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताए। रासस

  • १२ श्रावण २०८२, सोमबार १७:०२ प्रकाशित