डब्ल्यूएचओको चेतावनी :‘ओमिक्रोन घातक छ, कमजोर नठान्नुस’

केन्द्रभाग मिडिया

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन घातक भएको भन्दै कमजोर नठान्न चेतावनी दिएको छ। यो भेरिअन्टले विश्वभरि मानिसको ज्यान लिइरहेकोले यसलाई कमजोर नठान्न आग्रह गरेको हो ।

संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य सङ्गठनले गत साता विश्वभर सङ्क्रमणको सङ्ख्या ७१ प्रतिशतले बढेको र अमेरिकी महाद्विपमा १०० प्रतिशतले बढेको जनाएको छ। विश्वभरका गम्भीर सङ्क्रमणको घटनामध्ये ९० प्रतिशत सङ्क्रमितले कोभिड खोप नलगाएको पनि डब्ल्यूएचओले बताएको छ।

हालैका अध्ययनहरूले ओमिक्रोनले अन्य भेरिअन्टभन्दा कम मात्रामा मात्रै सङ्क्रमितलाई अस्पतालको उपचार चाहिने अवस्थामा पुर्‍याउने देखिएको जनाएका छन्।

तर डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ओमिक्रोनका कारण धेरै मानिसहरू सङ्क्रमित हुँदा स्वास्थ्य प्रणालीहरू धेरै दबावमा परेको बताएका छन्।

‘डेल्टाभन्दा ओमिक्रोन विशेषगरी खोप प्राप्त गरेका व्यक्तिहरूमा कम घातक देखिएको भए पनि यसको आधारमा त्यसलाई कम जोखिमयुक्त भनेर वर्गीकरण गर्नु हुँदैन,’बिहीवार डब्ल्यूएचओ प्रमुखले भने।

पहिलेका भेरिअन्टले जस्तै ओमिक्रोनले मानिसहरूलाई अस्पताल पुर्‍याउने र मार्ने गरिरहेको छ।वास्तवमा सङ्क्रमणको सुनामी यति विशाल र तीव्र छ कि विश्वभरिका स्वास्थ्य प्रणालीलाई दबाव परेको छ।’उनले भनेका छन्

बिहीवार यूकेले कोरोनाभाइरसका थप १ लाख ७९ हजार ७५६ सङ्क्रमण र २३१ जनाको मृत्यु भएको पुष्टि गरेको छ। त्यहाँका केही अस्पतालहरूले कर्मचारी बिदामा भएको र कोभिडका दबावका कारण अवस्था गम्भीर भएको बताएका छन्।

अन्यत्र पनि अस्पताल पुग्ने बिरामीहरू बढिरहेका छन्। फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभर भेरानले ज्यानुअरी महिना देशका अस्पतालहरूका लागि कठिन हुने बताएका छन्।

उनले डेल्टा भेरिअन्टबाट सङ्क्रमितले आईसीयूको शैया ओगटेको र ओमिक्रोनका सङ्क्रमितले अस्पतालका अन्य शैया ओगटिरहेको बताएका छन्। फ्रान्समा बिहीवार थप २ लाख ६१ हजार सङ्क्रमण पुष्टि गरिएको थियो।

  • २३ पुष २०७८, शुक्रबार १५:१९ प्रकाशित