पोखरा ।
नेकपा एमाले कास्कीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी माथि छानविनको माग गरेको छ । पोखराको १३५ रोपनी लिची बगैंचा हडप्ने योजनाको घुस डिल भएको अडिओ सार्वजनिक भएर मन्त्री अधिकारी माथि चौतर्फी छानविनको माग भइरहेको बेला कास्की एमालेले उनीमाथि छानविनको माग गरेको हो । एमाले कास्कीको शनिबार बसेको बिस्तारित बैठकले छनविनको माग गरेको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
पुष्पलाल स्मिृति दिवश मनाउने सन्दर्भमा तयारी बैठकमा पार्टीका जिल्लास्थित केन्द्रीय सदस्य, पदाधिकारी र अधिकांश सदस्यले यस्तो माग राखेपछि प्रस्ताव पेस गरेर एकमतले पारित गरेको उनले बताए । ‘हामी पुष्पलाल स्मृति दिवसलाई मनाउने सन्दर्भमा तयारी बैठक बसेका थियौं । कास्कीबाट प्रतिनिधित्व गर्नुहुने केन्द्रीय सदस्य, पदाधिकार र अधिकांश सदस्यले पोखराको १३५ रोपनी लिची बगैंचा हडप्ने योजनाको घुस डिल भएको अडिओको सन्दर्भमा कूरा उठाउनु भयो । यत्रो दुख गरेर निर्माण गरेको पार्टीका नेताहरु मुछिएको प्रकरणमा चुप लागेर बस्न हुन्न भनेर सबैको एउटै स्वरमा छानविनको माग गरेका हौं, उनले भने ।
उनले पोखरा–१६ दीपमा रहेको १३५ रोपनी लिची बगैचा हडप्ने योजनामा सहभागी सबैलाई छानबिनको दायरामा ल्याएर कारबाही गर्न माग गर्ने निर्णय गरेको पनि बताए ।
मन्त्रीसँग घुस डिलमा सहभागी बिचौलिया भनिएका सुजन लामाको पार्टी सदस्यता नवीकरण नगरेको पनि अधिकारीले जानकारी दिएका छन् । उनले पोखरा महानगर वडा नम्बर २५ बाट एमालेको पार्टी सदस्यता लिएका थिए । लामा एमाले गण्डकीको सल्लाहकार परिषद सदस्य छन् ।
भेलाले ४७ औं पुष्पलाल स्मृति दिवसका अवसरमा ५ साउनमा पुष्पलाल पार्क सरसफाई, ६ साउनमा पुष्पलाल अध्यन केन्द्रमा पुष्पलालको तस्वीरमा माल्यार्पण र विचार गोष्ठी र ७ साउनमा पोखरामा उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा विचार गोष्ठी आयोजना गर्ने निर्णय गरेको पनि एमाले कास्कीका अध्यक्ष अधिकारीले जानकारी दिए ।














