काठमाडौं।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश जटिल मोडमा रहेको बताएका छन् ।
बिहीबार ललितपुरमा श्रम उत्पादनमा वाईसीएल अभियानको शुभारम्भ गर्दै प्रचण्डले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको उल्लेख गरे ।
अहिलेको सरकारले जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार हुने गरेको आरोप लगाए । उनले वर्तमान सरकार सुशासनको विरुद्धमा खडा भएको आरोप लगाउँदै सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको बताए ।
उनले भने, ‘हामी सबैले जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासनको पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा हामी लाग्नुपर्छ ।’
प्रचण्डले युवालाई संगठित गरेर मात्रै परिवर्तन उल्ट्याउनेहरू विरुद्ध सफलता हात पार्न सक्ने बताए । आफूहरूले खबरदारी गर्दागर्दै पनि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त हुने र जनभावना विपरीत गए सरकारको प्रतिवाद सडकबाट गर्ने उनले चेतावनी दिए ।














