सूचना केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध पौने १६ करोडको भ्रष्टाचार मुद्दा

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध पौने १६ करोड रुपैयाँ भ्रष्टाचारको अर्को मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पौडेलसहित अख्तियारले केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसन नेपालका अध्यक्ष अरुण श्रेष्ठलाई प्रतिवादी बनाएको छ ।

पूर्वाधारको आपूर्ति, डेलिभरी, स्थापना र सञ्चालनका लागि गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरी १५ करोड ८८ लाख रुपैयाँ बराबरको भुक्तानी लिने दिने कार्य गरी भ्रष्टाचार गरेको आरोप उनीहरु विरुद्ध छ ।

उच्च कम्प्युटर पूर्वाधार खरिदका लागि ३० करोड ९९ लाख रुपैयाँको लागत अनुमान तयार गरी उनीहरूले २०७६ माघ १५ गते भ्याटसहित ३० करोड ६५ लाख रुपैयाँको बोलपत्र स्वीकृत गरेका थिए ।

अख्तियारले ६ जना प्रतिवादीबाट जनही १५ करोड ८८ लाख रुपैयाँ बिगो कायम गरी सजायको माग दाबी गरेको छ । पौडेलविरुद्ध अख्तियारले यसअघि आरआईएससी र एचसीआई सर्भर खरिदमा ३ अर्ब १४ करोड रुपैयाँ तथा सुरक्षा र नेटवर्क उपकरण खरिदमा ३ करोड ८ लाख रुपैयाँ भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।

यस्तै नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा रहँदा पौडेलले बिलिङ प्रकरणमा गरेको भ्रष्टाचार मुद्दा पनि अदालतमा विचाराधीन छ।

  • २७ असार २०८२, शुक्रबार १६:५५ प्रकाशित