काठमाडौं ।
नेकपा एमालेले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णय आपत्तिजनक, अमानवीय र गैरजिम्मेवार भएको बताएको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी निर्णयप्रति आपत्ति जनाएका हुन् ।
‘घर भत्काएर, पुनर्वासको आश्वासन दिएर महिनौँ अनिश्चिततामा राख्ने र अहिले अस्थायी आश्रयसमेत खोस्ने सरकारको कदम संविधानप्रदत्त आवासको हक र सामाजिक न्यायको मर्मविपरीत छ’, प्रमुख आचार्यले भनेका छन् ।
आचार्यले नागरिकको अभिभावक राज्य भएको भन्दै बेघर नागरिकलाई थप बेघर बनाउने निकाय नभएको बताएका छन् ।
‘भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट होइन, न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गरिनुपर्छ’, आचार्यले भनेका छन्, ‘होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता गरी सुरक्षित आवासको सुनिश्चितता गरियोस् ।’













