हेमजा सहित्य महोत्सव सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा आयोजित दोस्रो संस्करणको ‘हेमजा साहित्य महोत्सव’ सम्पन्न भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा पोखरा महानगरपालिका–२५ हेमजामा शनिबारदेखि सुरु भएको दुईदिने महोत्सव आइतबार सम्पन्न भएको हो ।

महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यको नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, सम्बर्धन तथा प्रवद्र्धनसँगै हेमजाको साहित्यिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न महोत्सव सफल भएको बताए । उनले पोखरा कला र साहित्यको उर्वर भूमि भएको उल्लेख गर्दै साहित्यिक गतिविधिको प्रवद्र्धनमा महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । हेमजा साहित्य प्रतिष्ठानले काव्य तथा साहित्यको प्रवद्र्धनमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले पोखरा प्रज्ञा प्रतिष्ठानमार्फत पनि कला र साहित्यको विकासका लागि महानगरले काम गरिरहेको उल्लेख गरे ।

पोखरा–२५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले साहित्य महोत्सवले काव्यनगरी हेमजासहित समग्र पोखराको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुगेको बताए । कला र साहित्यको प्रवद्र्धनमा वडाले सदैव सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने उनले बताए ।

दुई दिनसम्म सञ्चालन भएको महोत्सवमा कविता, आख्यान, गजल, मुक्तक, लघुकथा, साहित्यिक विमर्श, काव्यवाचन तथा पुस्तकमाथि परिचर्चालगायतका कार्यक्रम गरिए । महोत्सवमा ‘मढीमा सिर्जना : काव्यनगरी दर्शन’ कार्यक्रमबाट दोस्रोको शुरुवात भएको थियो । त्यसपछि कविता हुँदै आख्यान र गैरआख्यानसम्मका विषयमा विमर्श गरिएको थियो । कार्यक्रममा मुक्तक, कविता, लघुकथा र गजल वाचनसमेत गरिएको थियो । रामजीप्रसाद आचार्यको मुक्तक, शिव त्रिपाठीको कविता, कल्याण पन्तको लघुकथा र आवाज शर्माको गजल प्रस्तुतिले साहित्यप्रेमीलाई आकर्षित गरेको थियो ।

महोत्सवको पहिलो दिन उद्घाटन सत्रमा कवि एवम् भाषासेवी मुकुन्दशरण उपाध्यायलाई अभिनन्दन ग्रन्थ अर्पण गरिएको थियो । हेमजामा जन्मिएर नेपाली साहित्य र भाषाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका उपाध्यायको योगदानको उच्च कदर गर्दै अभिनन्दन ग्रन्थ अर्पण गरिएको अध्यक्ष गायकले जानकारी दिए । यसअघि महोत्सवको पहिलो संस्करणमा उपाध्यायलाई रथारोहणसहित अभिनन्दन गरिएको थियो ।

साहित्यिक गतिविधिसँगै हेमजाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक मौलिकता र पर्यटनको सम्भावनालाई उजागर गर्न महोत्सव सफल भएको प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले जानकारी दिए ।

  • ६ मंसिर २०८३, आईतवार २१:५४ प्रकाशित