साँझ ६ बजे प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकरबीच वार्ता हुने

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगिसकेका छन् । आइतबार उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका वाणिज्य, उद्योग तथा सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए ।

विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै ताज होटल पुगेका छन् । त्यहाँ केहीबेरमा परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावासका अधिकारीहरूले उनलाई भ्रमणबारे ब्रिफिङ गर्ने कार्यक्रम छ ।

त्यसपछि भारतीय समयअनुसार साँझ ६ बजे प्रधानमन्त्री शाहले भारतका विदेशमन्त्री एस। जयशंकरसँग भेटवार्ता गर्नेछन् ।

उक्त भेटमा नेपाल–भारतबीच हुने छलफलका एजेन्डाबारे कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र भारतका अधिकारीहरूले तयार पारेको द्विपक्षीय एजेन्डाबारे त्यहाँ छलफल हुनेछ ।

भ्रमण दलमा सहभागी परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार उक्त भेटलाई स्वागत भेटघाटका रूपमा पनि लिइएको छ । भेटमा समग्र भ्रमणको ब्रिफिङ हुनुका साथै छलफलका एजेन्डाबारे कुराकानी हुनेछ ।

खेलकुद, स्वास्थ्य, कृषि तथा विपद् व्यवस्थापनलगायतका विषयमा सम्झौता गरी हस्ताक्षर गर्ने तयारी छ । ती विषयमा पनि प्रधानमन्त्री शाहलाई ब्रिफिङ गरिने ती अधिकारीले बताए ।

  • ६ मंसिर २०८३, आईतवार १६:४३ प्रकाशित