काठमाडौं ।
रसुवा–भोटेकोशी बाढीमा बेपत्ताको विवरणमा दाबी गर्न सात दिने सूचना जारी भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकको अद्यावधिक विवरणमा दाबी पेश गर्न सात दिने सूचना जारी गरेको छ ।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ को दफा २ को उपदफा (३)बमोजिम प्रकाशित यो दोस्रो चरणको सूचना मार्फत बेपत्ता व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति वा एकाघरको परिवारले सात दिनभित्र दाबी पेश गर्न आग्रह गरिएको छ । प्राधिकरणका अनुसार प्रथम चरणको सूचना २०८३ कार्तिक २१ गते र दोस्रो चरणको सूचना २०८३ मंसिर ५ गते प्रकाशित भएको हो ।
हालसम्म १७ जिल्लाका कुल १ हजार १ सय ९८ जनाको विवरण यकिन भई समावेश गरिएको प्राधिकरणले बताएको छ । विदेशी १२ देशका ४ सय ५२ जनाको विवरण यकिन भएको छ । जसमा भारतका २१३ जना, चीनका ८५ जना, संयुक्त राज्य अमेरिकाका ६९ जना, संयुक्त अधिराज्यका ३२ जना र क्यानडाका २७ जना रहेका छन् ।
सिङ्गापुरका ९ जना, दक्षिण अफ्रिकाका ६ जना, फ्रान्सका ४ जना, हङ्गेरी, बेल्जियम र काजाकिस्तानका २–२ जना तथा बेलारुसका एक जनाको विवरण समावेश गरिएको प्राधिकरणले बताएको छ ।
प्रकाशित विवरणमा थपघट, संशोधन वा कुनै दाबी विरोध भएमा स्वदेशी नागरिकको हकमा व्यहोरा खुलाएर सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा प्राधिकरणको इमेल ठेगानामा दाबी पेश गर्न सकिने छ । भने, विदेशी नागरिकको दाबी विरोध पेश गर्न कन्सुलर सेवा विभागमा सम्पर्क गर्न भनिएको छ ।














