पराजय व्यहोर्दैमा हतोत्साहित नहुन कार्यकर्तालाई विद्याको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निरुत्साहित नहुन पार्टी कार्यकर्तालाई आग्रह गरेकी छन् ।

राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार सम्बोधन गर्दै उनले एउटा निर्वाचन हार्दैमा हतोत्साहित हुनुपर्ने अवस्था नरहेको बताएकी हुन् ।

गत वर्ष भदौ २३ र २४ गतेका घटनाक्रम तथा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले नेता तथा कार्यकर्तामा निराशा उत्पन्न गरेको हुन सक्ने उनले उल्लेख गरिन् ।

तर विगतका सङ्घर्षबाट प्रेरणा लिएर वर्तमान चुनौतीको सामना गर्नुपर्ने भण्डारीको भनाइ छ । पार्टीको विगत स्मरण गर्दै उनले पञ्चायती व्यवस्थाको दमन, विश्व कम्युनिस्ट आन्दोलनले बेहोरेको सङ्कट तथा मदन–आश्रितको रहस्यमय हत्यापछिको कठिन परिस्थितिमा समेत एमालेले आफ्नो राजनीतिक यात्रा जारी राखेको बताइन् ।

आगामी चुनौतीको सामना गर्न सङ्गठनलाई सुदृढ, एकताबद्ध र गतिशील बनाउनुपर्नेमा जोड दिँदै भण्डारीले नेता तथा कार्यकर्ताबिच जिम्मेवारीको व्यावहारिक कार्यविभाजन, योगदान र क्षमताको उचित मूल्याङ्कन तथा पार्टीका सबै तहबीच साझा उद्देश्य निर्माण गर्न आवश्यक रहेको औँल्याइन् ।

हालको निर्वाचन परिणाम अस्थायी धक्का मात्र रहेको उल्लेख गर्दै उनले आगामी दिनमा सही कार्यदिशा र दृढ प्रतिबद्धताका साथ जनताको विश्वास जित्नुपर्ने बताइन् ।

भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता भण्डारीले भनिन्, ‘हालै सम्पन्न निर्वाचनमा व्यहोर्नुपरेको गम्भीर धक्काको सम्बन्धमा पार्टीले व्यापक छलफल र समीक्षासमेत गरिसकेको छ । समीक्षाबाट निकालिएका निष्कर्षहरूलाई नेतृत्वदेखि कार्यकर्तासम्म सबै तहमा इमानदारीपूर्वक व्यवहारमा कार्यान्वयन गरिनुपर्दछ । एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन, तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरू सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो ।’

राजनीतिमा थकाइ र विश्राम भन्ने नहुने बताउँदै उनले आफू कुनै पदप्राप्तिका लागि राजनीतिमा सक्रिय नभएको स्पष्ट पारिन् । कम्युनिस्ट आन्दोलन र नेकपा (एमाले)लाई बलियो शक्तिका रूपमा विकास गर्न आफू सक्रिय राजनीतिमा फर्किएको उनको भनाइ छ ।

  • ३ मंसिर २०८३, बिहीबार १२:५८ प्रकाशित