काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाहसँग नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई तथा शुभकामना दिए ।
त्यसक्रममा प्रधानमन्त्री शाहले नेपालमा आएको रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार समेत व्यक्त गरे । यस्तै आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे समेत राजदूत दलेलासँग उनले जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएका थिए । प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबिच तीव्र गृहकार्य भइरहेको राजदूत दलेलाले जानकारी दिए ।












