कोल्मामा सातौं संस्करणको राष्ट्रिय क्रसकन्ट्री दौड, विजेतालाई ५० हजार पुरस्कार

केन्द्रभाग मिडिया

 

पोखरा ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–८ स्थित कोल्माबहाकोट सातौँ संस्करणको राष्ट्रियस्तरको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सातसय कोल्माबहाकोट सम्पर्क मञ्चको आयोजनामा आगामी पुस ८ गते (२३ डिसेम्बर २०२६) प्रतियोगिता हुन लागेको हो ।

‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा खुला पुरुष तथा महिला २५ किलोमिटर, खुला महिला १० किलोमिटर, २१ वर्षमुनिका पुरुष १० किलोमिटर, विद्यार्थी छात्रछात्रा पाँच किलोमिटर र ३० वर्षमाथिका महिलाको रन फर फन लुङ्गी ड्रेस दौड समावेश गरिएको छ।

प्रतियोगिताको खुला पुरुष तथा महिला २५ किलोमिटर दौडमा प्रथम हुनेले ५० हजार, द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। खुला महिला १० किलोमिटर र २१ वर्षमुनिका पुरुष १० किलोमिटर दौडका विजेताले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, विद्यार्थी छात्रछात्राको पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः आठ हजार, पाँच हजार र तीन हजार रुपैयाँ पाउनेछन् । ३० वर्षमाथिका महिलाका लागि आयोजना गरिने लुङ्गी ड्रेस दौडका विजेताले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

२५ किलोमिटर दौड कोल्माबहाकोट सुरु भई आसपासका विभिन्न गाउँबस्ती हुँदै पुनः कोल्माबहाकोट पुगेर सम्पन्न हुनेछ । १० किलोमिटर दौडका सहभागीले कोल्माबहाकोटबाट सुरु गरी बराहखोला, सतीडाँडा, काहुले, ज्यामिरे, चिहुवा, भैँसेगौँडा र राङभाङ हुँदै पुनः सोही स्थानमा पुगेर दौड पूरा गर्नेछन् । पाँच किलोमिटर दौडको मार्ग पनि कोल्माबहाकोटबाट सुरु भई आसपासका बस्ती हुँदै पुनः सोही स्थानमा आएर टुंगिनेछ।

कार्यक्रम संयोजक सुबेदार मेजर जितबहादुर गुरुङले प्रतियोगिताको तयारी अघि बढाइएको जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत ग्रामीण क्षेत्रको आर्थिक विकास, पर्यटन प्रवर्द्धन र स्थानीय प्रतिभाको पहिचान गर्नु हो ।

सातसय कोल्माबहाकोट सम्पर्क मञ्च स्याङ्जाका अध्यक्ष सुबेदार मेजर दूतप्रसाद गुरुङले  प्रतियोगिताका विषयमा जानकारी दिँदै दौडलाई गाउँको विकास र पहिचानसँग जोड्न खोजिएको बताए ।

गाउँबाट रोजगारी र अवसरको खोजीमा बाहिरिएका स्थानीयवासीलाई जन्मभूमिसँग जोड्ने तथा गाउँको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसमेत प्रतियोगिताले राखेको आयोजकको भनाइ छ । क्रसकन्ट्री दौडसँगै स्थानीय लोकसंस्कृतिको प्रदर्शन, सांस्कृतिक कार्यक्रम र होमस्टे प्रवर्द्धनका गतिविधिसमेत सञ्चालन गरिनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख ८१ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताले खेलकुदसँगै कोल्मा क्षेत्रको पर्यटन, स्थानीय संस्कृति र ग्रामीण अर्थतन्त्रको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको  ।

  • २ मंसिर २०८३, बुधबार १७:१० प्रकाशित