काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति कटाक्ष गर्दै रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि समाज उल्टोबाटोतिर लागेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बालेनको सरकार बनेपछि समाज अत्यन्त उल्टोबाटोतिर धकेलिँदै गएको भन्दै संस्कृति, सभ्यतामाथि चर्को हमला भइरहेको बताए ।ओलीले जनताप्रति सरकार उत्तरदायी हुन नसकेको बताएका छन् ।
‘जनताप्रति अनुत्तरदायी सरकार, खर्बौ पैसा जम्मा भएको छ त्यो पैसा थान्को लागेर बसेको छ, पीडितहरु दुखमा पिल्सिरहेका छन्’, ओलीले भने, ‘सरकारले काम गर्दा सकिन्थ्यो तर केही पनि भएको छैन, शिक्षा विग्रदो छ, स्वास्थ्यस्थितिमा सुधार भएको छैन । अस्पतालबाट बाहिर निकालेर सडकमा प्रश्रव वेदनामा शिशुलाई जन्म दिनुपरेको छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली संसद विघटनसम्बन्धी मुद्दामा अदालत समेत चुपचाप लागेर बसिरहेको भन्दै असन्तुष्टि जनाए । ‘राज्यका अङ्गहरू, निकायहरू आफ्नो काम गर्न र कर्तव्य पालना गर्न सक्ने अवस्थामा छैनन्, कारण मैले भनिरहनुपर्दैन सबैलाई थाहा छ’, ओलीले भने, ‘यस्तो स्थितिमा देशको अस्मिता,स्वाधीनता, स्वाभिमान र सम्मानको रक्षा गर्न आवश्यक छ त्यसका लागि जनता अघि बढ्नुपर्ने अवस्था आइसकेको छ ।’
उनले जनतालाई झुक्काएर र जेनजी विद्रोहको बहाना बनाएर तालिमप्राप्त अपराधीलाई परिचालन गरेर वितण्डा मच्चाउने काम भएको दाबी गरे ।












