नेकपा एमालेको राष्ट्रिय भेला सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको राष्ट्रिय भेला सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भेला उद्घाटन गरेका हुन् । भेलामा देशभरबाट ३४ सय १४ प्रतिनिधिहरू सहभागी हुनेछन् ।

भेलामा पुराना वामपन्थी नेताहरू मोहनचन्द्र अधिकारी, वाचश्पति देवकोटा, हरिचरण सिवाकोटी र विजयलाल श्रेष्ठ सहभागी छन् । विजयलाल नेकपा संस्थापक महासचिव पुष्पलालको भाइ हुन् ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको पूर्वतयारीका लागि भेला आयोजना गरिएको हो । पार्टी जीवनमा स्थानीय कमिटी तहदेखि केन्द्रीय कमिटी, संसददेखि पालिकासम्मका प्रतिनिधिसहितको यो पहिलो भेला हो ।
२०८२ भदौ २३/२४ को जेनजी उपद्रव पछि मुलुकमा उत्पन्न राष्ट्रिय राजनीतिक निकासका लागि भेलामा बहस हुने छ । भेलाले राजनीतिक कार्यदिशा, आउँदो स्थानीय तहको चुनावको पूर्व तयारी बारे प्रशिक्षणसहित पार्टीको राजनीतिक लाइनमा एकरुपताको सन्देश प्रदान गर्ने नेताहरू बताउँछन् ।

गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरूको कार्यन्यवनमा एकरुपता र पार्टीले गर्नुपर्ने १५ कामको जिम्मेवारी र कार्य सम्पादन सम्बन्धी भेलामा छलफल हुने छ ।

  • २ मंसिर २०८३, बुधबार १२:२१ प्रकाशित