एनपीएलको पहिलो क्वालिफायरमा लुम्बिनी र सदूरपश्चिमको भिडन्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा गत सिजनका विजेता र उपविजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् ।

लिग चरणको अन्तिम खेलमा काठमान्डु गोर्खाज पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएपछि पहिलो क्वालिफायर र एलिमिनेटर खेल्ने टोलीको टुङ्गो लागेको हो । आठ टोली सहभागी लिगबाट पोखरा र कर्णालीसँगै जनकपुर बोल्ट्स र विराटनगर किंग्स अन्तिम चारबाट बाहिरिएका छन् ।

पहिलो क्वालिफायरमा शीर्ष स्थानको लुम्बिनी र दोस्रो स्थानको सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्नेछन् । लिग चरणको पाँच खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँडेको लुम्बिनी ११ अंकसहित तालिकाको शीर्षस्थानमा रहेर पहिलो क्वालिफायर खेल्ने भएको हो । लिग चरणमा लुम्बिनी काठमान्डु गोखार्जसँग ३६ रनले पराजित भएको थियो ।

त्यस्तै, पाँच खेलमा जित र दुई खेलमा हार भोगेको सुदूरपश्चिम १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्ने भएको हो । यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ ।

पराजित हुने टोलीले भने फाइनल पुग्न दोस्रो मौका पाउनेछ । त्यसका लागि दोस्रो क्वालिफायर खेल्नेछ । प्लेअफमा पुगेका अन्य दुई टोलीमा काठमान्डु गोर्खाज र चितवन राइनोज हुन् । काठमान्डु चार खेलमा जित र तीन खेलमा हार भोग्दै आठ अंकमा तालिकाको तेस्रो र तीन खेलमा जित, तीन खेलमा हार र एक खेलमा अंक बाँड्दै सात अंक बनाएको चितवन तालिकाको चौथो स्थानमा रहेर एलिमिनेटर खेल्ने भएका हुन् ।

एलिमिनेटर खेल बुधबार हुनेछ । एलिमिनेटरमा जित निकाल्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । पराजित हुने टोली भने बाहिरिनेछ ।

एलिमिनेटरमा जित निकाल्ने टोलीले लुम्बिनी र सुदूरपश्चिमबीचको पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायर खेल बिहीबार हुनेछ ।

पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर खेलको विजेता उपाधिका लागि भिड्नेछन् । एनपीएलको तेस्रो सिजनको फाइनल खेल शनिबार हुनेछ ।

  • १ मंसिर २०८३, मंगलवार ०८:४६ प्रकाशित