काठमाडौं ।
स्पेनको मध्य क्षेत्रमा भएको रेल दुर्घटनामा परेर कम्तीमा ६८ जनाले ज्यान गुमाएका छन् । तीव्र गतिको रेल दुर्घटना हुँदा त्यसमा सबार दर्जनौँ मानिस घाइते भएका छन् । बुधबार बिहान म्याड्रिडबाट सेभिया गइरहेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएको बिबिसीले जनाएको छ ।
यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबीपछि मानवीय त्रुटि हुँदा दुर्घटना भएको हो । यो दुर्घटना आधुनिक युरोपेली इतिहासकै सबैभन्दा गम्भीर रेल दुर्घटनामध्ये एक हो । साथै, १३ वर्षयता स्पेनमा भएको सबैभन्दा घातक रेल दुर्घटना पनि हो ।
दुर्घटनाबाट बाँचेकाहरूले यात्रुहरू हावामा उछिट्टिएको, भग्नावशेषमा फसेको र बाहिर निस्कन झ्याल फुटाउनुपरेको हृदयविदारक दृश्य सुनाएका छन् ।
बुधबार बिहान ९ बजेपछि म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा रहेको मोरा र ओर्गाज नगरपालिकाबीच दुर्घटना भएको थियो ।
यातायातमन्त्री पुएन्तेका अनुसार निजी रेल सञ्चालक कम्पनी इरियोले सञ्चालन गरेको रोकिएको रेलमा १४७ यात्रु सवार थिए। कम्प्युटर प्रणालीमा समस्या आएपछि उक्त रेल ट्र्याकमै रोकिएको थियो ।
प्रणालीमा समस्या आएपछि म्याड्रिडस्थित २४ घण्टा सञ्चालन हुने नियन्त्रण केन्द्रले जिम्मेवारी सम्हाल्ने व्यवस्था रहेको उनले बताए । तर, नियन्त्रण केन्द्रले कुनै गति सीमा नतोकी रेलहरूलाई पुनः चल्न निर्देशन दिने ‘अस्पष्ट र बुझ्न नसकिने’ निर्णय गरेको उनले बताए ।
इरियोले आफ्नो रेललाई स्पेनको सरकारी रेल कम्पनी रेन्फेले सञ्चालन गरेको अर्को रेलले पछाडिबाट ठक्कर दिएको जनाएको छ । रेन्फेको रेलमा ३९७ यात्रु सवार थिए । रेन्फेको रेलमा यात्रा गरिरहेका ६२ वर्षीय साल्भाडोर अरिजाले दुर्घटनाको ठक्करलाई ‘भयानक’ बताए।
यात्रुहरू बाहिर निस्कन झ्याल फुटाउन थालेको उनले रोयटर्सलाई बताए । ‘केही मानिस सिटहरूबीच फसेकाले चल्नसमेत सकिरहेका थिएनन्,’ उनले भने ।
रेलका एउटा डिब्बामा आगलागीसमेत भएको थियो । फसेका मानिस चिच्याइरहेको, रगताम्य भएको र केही यात्रु भग्नावशेषमुनि पुरिएको दर्दनाक दृश्य यात्रुहरूले सुनाएका छन् ।
दुर्घटनास्थलका तस्बिरमा रेलको लामो लिकको एउटा टुक्रा डिब्बाभित्र छिरेको देखिएको छ । उद्धारका लागि दर्जनौं एम्बुलेन्स घटनास्थल पुगेका थिए। गम्भीर घाइतेहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।
स्पेनको सिभिल गार्डले केही मृतकको पहिचान गर्न उनीहरूका आफन्तबाट डिएनए नमुना संकलन गर्नुपर्ने जनाएको छ । प्रधानमन्त्री पेद्रो सान्चेजले दुर्घटनास्थलको भ्रमणका क्रममा भने, ‘सम्पूर्ण स्पेन शोकमा छ। धेरैको जीवन तहसनहस भएको छ, परिवारहरू टुक्रिएका छन् र पीडा असह्य छ ।’
यसअघि जनवरीमा पनि स्पेनको कोर्डोबानजिकै तीव्र गतिको रेल दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ४६ जनाको ज्यान गुमेको थियो । त्यो दुर्घटना पनि यही रेलमार्गमा भएको थियो।
बुधबारको दुर्घटना सन् २०१३ यताकै स्पेनको सबैभन्दा घातक रेल दुर्घटना भएको जनाइएको छ ।













