चीनसँग सम्बन्ध सुधार गर्ने प्रयासका लागि परिचित जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ ।
उनको निधन अक्टोबर २२ मा भएको जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका एक अधिकारीले एएफपीलाई बताएका छन् ।
फुकुदाले सन् २००७ सेप्टेम्बरदेखि एक वर्ष जापानको नेतृत्व गरेका थिए । उनले १२ महिनामै पहिलो कार्यकाल समाप्त गरेका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेको स्थान लिएका थिए।
प्रधानमन्त्री रहँदा फुकुदाले चीनसँगको सम्बन्ध सुधारलाई प्राथमिकता दिएका थिए । उनले तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओलाई जापान भ्रमणको निमन्त्रणा दिएका थिए । सन् २००८ मेमा भएको उक्त भ्रमण एक दशकपछि जापान भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रप्रमुखको भ्रमण थियो ।
भ्रमणका क्रममा दुवै नेताले ‘साझा रणनीतिक हितमा आधारित पारस्परिक लाभदायक सम्बन्ध’ निर्माण गर्ने प्रतिबद्धतासहित संयुक्त वक्तव्य जारी गरेका थिए ।
लोकप्रियता घटेपछि फुकुदाले सन् २००८ सेप्टेम्बरमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। उनले सन् २०१२ मा सक्रिय राजनीतिबाट अवकाश लिएका थिए ।
विवादित टापु र ऐतिहासिक मुद्दालाई लिएर जापान र चीनबीचको सम्बन्ध बिग्रँदै गएपछि फुकुदा सन् २०१४ मा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गर्न चीन गएका थिए । उनको उक्त पहलले सी र आबेबीच शिखर बैठकका लागि मार्ग प्रशस्त गरेको थियो ।एजेन्सी













