काठमाडौं ।
भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको ज्यान गुमेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मंगलबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै दुर्घटना भएको हो । डुंगामा २० जनाभन्दा बढी सवार थिए । मृतकमा अधिकांश बालबालिका रहेको बताइएको छ ।
डुंगामा सवार व्यक्तिहरू भोज खान जाने क्रममा नदीमा डुंगा पल्टिएको बताइएको छ । घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी र प्रशासनले उद्धार अभियान चलाएका थिए ।
दुर्घटनाको कारण भने खुलिसकेको छैन ।
मृतकका परिवारलाई चार–चार लाख भारतीय रुपैयाँ
बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । उनले उद्धार कार्य तीव्र बनाउन र घाइतेको उचित उपचारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन दिएको बताएका छन् ।
भारतको बिहारका पूर्वउपमुख्यमन्त्री तथा राघोपुरका विधायक तेजस्वी यादवले पनि घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । उनले स्थानीय बासिन्दा, प्रशासन र सम्बन्धित अधिकारीसँग कुराकानी गरी उद्धार तथा उपचार कार्यलाई तीव्रता दिन आग्रह गरेको बताएका छन् ।













