काठमाडौं ।
सप्तकोसी नदीमा मोटरबोट दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार दुर्घटनामा परी एक बालिका, एक महिला र एक पुरुषको ज्यान गएको हो । मृतकको पहिचान खुलेको छैन ।
आइतबार दिउँसो २ बजे धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा मोटरबोट दुर्घटना भएको हो ।
भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा मोटरबोट दुर्घटना भएको हो । मोटरबोटमा १४ जना सवार थिए । दुर्घटनामा परेर बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बाहिनीबाट पाँच जना गोताखोरसहित नौ जना, सुरक्षा बेस रामपुरबाट दुई जना डिएमसहित छ जना र विपद् व्यवस्थापन बेस चतराबाट पाँच जना डिएमसहित नौ जनाको टोली घटनास्थलमा खटिएको छ ।
दुर्घटनाको कारण खुलेको छैन ।












