एसिएन गेम्स :  समूह विजेता बन्दै नेपाल अघिल्लो चरणमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै नेपाल अघिल्लो चरण प्रवेश गरेको छ ।

क्वाटरफाइनलमा अब नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल भिडन्त मंगलबार हुनेछ ।

समूह ‘ए’को नेपालले पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो भने आयोजक जापानसँगको दोस्रो खेल नतिजाविहीन भएको हो ।

शनिबार बिहान टस जितेर जापानले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको नेपालले वर्षाका कारण पाँच ओभर घटाइएको खेलमा १४९ रन बनाएको थियो । वर्षाका कारण दोस्रो इनिङको खेल हुन नसकेपछि नेपालले जापानसँग अंक बाँडेको हो ।

जापानविरुद्ध नेपालका सन्दीप जोरा र लोकेश बमले नटआउट अर्धशतक बनाएका थिए ।

तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले पाँच चौका र तीन छक्काको मद्दतमा ३२ बलको सामना गरेर जापानविरुद्ध नटआउट ५७ रन बनाए ।

पाँचौक्रममा आएका लोकेश बलले आक्रामक ब्याटिङ गरे । उनले ६ छक्का र एक चौकाको मद्तमा २२ बलको सामना गर्दा नटआउट ५२ रन बनाउँदै अन्तिम बलमा अर्धशतक पूरा गरे ।

नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए भने कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट भए ।

नेपाललाई रोक्न जापानका लागि रेओ साकुरानो– थोमस, इब्राहिम ताकाहाशी, जेक कुसुदा–नायर्न र डेक्लान सुजुकीले एकएक विकेट हात पारे । नेपालविरुद्ध जापानले सात जना बलर प्रयोग गरेको थियो ।

जापानका इब्राहिम महंगा सावित भए उनले तीन ओभर बलिङ गर्दा एक विकेट लिएर ४० रन दिएका थिए

  • १० आश्विन २०८३, शनिबार १०:०४ प्रकाशित