काठमाडौं ।
एमाले नेता कृष्णगोपाल श्रेष्ठले यसअघि आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दै ‘केपी ओली इज केपी ओली’ भन्दै समर्थन गरेपनि अब त्यो खारेज भएको बताएका छन् ।
मंगलबार एमाले केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले २०८२ साल भदौ २२ सम्म आफूले भनेको कुरा सान्दर्भिक रहेको र भदौ २३ गतेदेखि त्यसको औचित्य सकिएकाले आफ्नो पुरानो अभिव्यक्ति खारेज भएको बताएका हुन् ।
‘व्यक्तिगत रुपमा अध्यक्षलाई म सम्मान गर्छु, त्यो सम्मान यथावत छ’, श्रेष्ठले भने, ‘हिजो एउटा परिस्थिमा एउटा सन्दर्भमा संसद विघटन र पुनस्थापना भइरहँदा पार्टीकै नेताले मार्गप्रशस्त गर्नुपर्छ अन्यथा कठालो समातेर फालिन्छ भनेपछि मैले ओली फुटवलको पेले हो भनेको हो ।’ उनले त्यो कुरा अहिले खारेज भएको अध्यक्षकै सामून्ने बैठकमै भनेको समेत बताए ।
‘२०८२ साल भदौ २३ देखि त्यसको सान्दर्भिकता सकिएकाले बैठकमै अध्यक्षको सम्मानमा मैले खारेज गरेँ भनिसकेँ’, श्रेष्ठले भने, ‘ एमालेको ११ औं महाधिवेशनमा मलाई हराउन ओलीजीले मेहनत गरेको हो मैले पनि उहाँलाई भोट नदिएकै हो ।’
नेता श्रेष्ठले ग्राउण्ड रियालिटी बुझेर एमाले र नेतृत्व सच्चिनुपर्नेमा जोड दिए ।
‘हामी सच्चिएनौ भने हामीलाई सकिनबाट कसैले रोक्दैन । लोकप्रिय र बलियो एमाले बनाउन कसले के त्यागगर्नुपर्छ । त्यसमा महशुस गर्नुपर्छ । अध्यक्षकै प्रतिवेदनमा रियलाईजेसनको कुरा आएको छ त्यो व्यवहारमा देखिनुपर्छ’, श्रेष्ठको भनाइ छ ।














