ट्राफिक जरिवानाबाट गण्डकीमा भादौमा १ करोड २९ लाख रुपैयाँ राजस्व

१४ हजार ५ सय ४३ सवारीसाधनमाथि कारबाही, सडक दुर्घटना रोक्न समूहिक प्रयास आवश्यक

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा ट्राफिक नियम उल्लंघनकर्ता सवारी चालकलाई गरिएको कारबाहीबाट भदौ महिनामा मात्रै १ करोड २८ लाख ९५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द राज काफ्लेले एक महिनामा १४ हजार ५ सय ४३ वटा सवारीसाधनमाथि कारबाही गर्दा उक्त राजस्व संकलन भएको जानकारी दिए ।

कारबाहीसँगै ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान तथा सचेतनामूलक कार्यक्रमलाई समेत तीव्रता दिएको जनाएको छ । भदौ महिनामा गण्डकीका विभिन्न सडकमा ९१ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा २१ जनाको ज्यान गुमेको छ भने १७६ जना घाइते भएका छन् । घाइतेमध्ये ३३ जना गम्भीर र १४३ जना सामान्य रहेको कार्यालयको विवरणमा उल्लेख छ । दुर्घटनामा परेका १९ जनालाई प्रहरीले उद्धार गरेको थियो ।

दुर्घटनाको कारण विश्लेषण गर्दा चालकको लापरबाही प्रमुख कारण देखिएको कार्यालयले जनाएको छ । तीव्र गति, मादक पदार्थ सेवनलगायतका कारण चालकबाट भएका कमजोरीलाई दुर्घटनाको मुख्य कारणका रूपमा औँल्याइएको छ । यस्तै, सवारीसाधनको अवस्था, सडक प्रयोगकर्ता तथा यात्रुको लापरबाही र सडकको अवस्थासमेत दुर्घटनाका कारण बनेका छन् ।

नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख प्रहरी उपरीक्षक काफ्ले दुर्घटना न्यूनीकरणलाई ट्राफिक प्रहरीको मात्रै जिम्मेवारीका रूपमा नहेरी सम्पूर्ण समाजको साझा दायित्वका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

‘गण्डकी प्रदेशमा सडक दुर्घटना न्यूनीकरणलाई हामीले केवल ट्राफिक प्रहरीको जिम्मेवारीका रूपमा होइन, सम्पूर्ण समाजको साझा दायित्वका रूपमा लिएका छौं’ एसपी काफ्लेले भने । उनका अनुसार दुर्घटना भएपछि कारबाही गर्नेभन्दा दुर्घटना नै हुन नदिने पूर्वसक्रिय व्यवस्थापनमा ट्राफिक प्रहरीले जोड दिएको छ । त्यसका लागि दुर्घटना सम्भावित क्षेत्र तथा ‘ब्ल्याक स्पट’ को पहिचान र निगरानी, तीव्र गति नियन्त्रण, मापसे तथा लापसे जाँच, चालकको अनुशासन, सवारीसाधनको अवस्था र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिइएको उनले बताए ।

‘अबको ट्राफिक व्यवस्थापन स्मार्ट, प्रविधिमा आधारित र नागरिकमैत्री हुनुपर्छ । उपलब्ध प्रविधिको प्रयोगसँगै नागरिकको सूचना, सुझाव र सहकार्यलाई पनि महत्व दिएका छौं,’ उनले भने ।

उनले चालक तथा यात्रुलाई हतारभन्दा सुरक्षित यात्रालाई प्राथमिकता दिन आग्रह गरे । ‘नियमलाई बाध्यता होइन, जीवन सुरक्षाको आधारका रूपमा पालना गरौं । सुरक्षित सडक, सुरक्षित गण्डकी—स्मार्ट ट्राफिक व्यवस्थापन, हाम्रो साझा जिम्मेवारी हो,’ उनले भने ।

  • ६ आश्विन २०८३, मंगलवार १०:३४ प्रकाशित