टोकियो ।
जापानको राजधानी टोकियोसहित पूर्वी क्षेत्रमा शक्तिशाली टाइफुन (शक्तिशाली समुद्री आँधी) को प्रभाव बढ्दै गएको छ । ‘डुजुआन’ नाम दिइएको टाइफुनका कारण तीव्र हावा र भारी वर्षा भइरहेको छ । जोखिम बढेपछि जापानी अधिकारीहरूले विभिन्न क्षेत्रमा उच्चसतर्कता अपनाएका छन् ।
डुजुआन जापानको पूर्वी तटतर्फ अघि बढ्दै गर्दा टोकियोमा सोमबार दिनभर भारी वर्षा भएको छ । मौसमविद्का अनुसार वर्षा र हावाको प्रभाव आगामी केही घण्टामा अझ बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
टाइफुनको केन्द्र जापानको मुख्य भूभागभन्दा केही पर समुद्रमै रहने अनुमान गरिए पनि होन्सुको पूर्वी तटमा ९० किलोमिटर प्रतिघण्टाभन्दा बढीको वेगले हावा चल्ने अनुमान छ । टोकियोमा समेत करिब ७५ किलोमिटर प्रतिघण्टासम्मको हावाको गति पुग्न सक्ने अनुमान गरिएको छ ।
डुजुआनको केन्द्र वरपर हावाको गति करिब १३० किलोमिटर प्रतिघण्टा रहेको र झोक्का १९४ किलोमिटर प्रतिघण्टासम्म पुगिरहेको बताइएको छ ।












