पोखरा ।
त्रिशूली नदीको कटानका कारण कृष्णभिरमा भासिएको पृथ्वी राजमार्ग असोज १ गतेअघि नै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। भिर कटानको काम सकिएकाले अब सडकको सतह मिलाएर यातायात सञ्चालन गर्ने तयारी छ।
मुग्लिङ–मलेखु खण्ड निर्माण आयोजनाकी प्रमुख सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीका अनुसार भित्ता काट्ने काम सकिइसकेको छ। अब राजमार्गको स्लोप र सर्फेस मिलाउन बाँकी छ। त्यसपछि कम्प्याक्सन गर्दै ग्राबेल गरेर राजमार्ग सञ्चालनमा ल्याइनेछ।
कामको गति यही रहेमा २ वा ३ दिनभित्रै सडक खुल्न सक्ने सम्भावना छ। आयोजनाले बढीमा असोज १ गतेसम्म राजमार्ग चलाउने लक्ष्य राखेको छ। १० मिटर चौडाइ र १५२ मिटर लम्बाइमा भिर काटेपछि राजमार्ग खुलाउने आधार तयार भएको हो। भिरको माथिल्लो भागदेखि नै स्लोपमा काटिएकाले सतहमा आइपुग्दा सडक १० मिटर फराकिलो बनेको छ।
राजमार्ग खुलाउन अहिले एक्साभेटर, बुल्डोजर, लोडर, ब्याकहो, टिप्पर, रक ब्रेकर र ग्रेडरजस्ता उपकरणहरु निरन्तर प्रयोग भइरहेका छन्। आयोजनाका इन्जिनियर धिरण ढकालले दिनरात नभनी काम भइरहेको बताए। सडक खुला भएपछि पहिलो प्राथमिकता एलपी ग्यासका बुलेट, खाद्यान्न, औषधि बोकेका गाडी र एम्बुलेन्सलाई दिइनेछ।












