पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरामा बामपन्थीहरुको एकता र सहकार्यका विषयमा बहस भएको छ । पुष्पलाल मित्रता केन्द्रले ४८ औं पुष्पलाल स्मिृति दिवशको सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरेको वर्तमान राजनीतिक परिस्थितिमा बामपन्थी दलहरुको भूमिका विषयक गोष्ठीमा नेताहरुले बामपन्थी एकता र सहकार्यको विषयमा बहस गरेका हुन् । बक्ताहरुले बामपन्थीहरुको बर्तमान अवस्था र यसलाई माथि उठाउन गर्नुपर्ने कामका विषयमा धारणा राखेका छन् ।
गोष्ठीका प्रमुख बक्ता नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले राजनीतिक दलको अध्यक्ष एउटै व्यक्ति पटक–पटक बन्न नपाउने व्यवस्था संविधानमै गर्नुपर्ने बताए । उनले नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिन राजनीतिक दलभित्रै निश्चित कार्यकालको व्यवस्था आवश्यक रहेको औंल्याए ।
संविधान निर्माणका क्रममा आफूले पनि भूमिका खेलेको स्मरण गरेका उनले राजनीतिक दलको नेतृत्वमा कार्यकालको सीमा तोक्ने विषयमा ध्यान नपुगेको बताए । ‘यो संविधानमा यो विषयलाई सम्बोधन गर्ने कुरामा ध्यान पुगेनछ । संविधानमा एक पटकभन्दा पार्टी अध्यक्ष बन्न मिल्दैन भन्ने लेखेको भए समस्या नै हुने थिएन,’ उनले भने ।
पुराना र नयाँ सबैखालका दलहरुमा नेतृत्व नछाड्ने प्रबृति रहेको संकेत गरेका उनले एक कार्यकाल भन्दा दोस्रो कार्याकाल अध्यक्ष बन्न नपाउने व्यवस्था गरेमा कुनैपनि राजनीतिक दल विभाजित नै नहुने ठोकुवा नै गरे । अहिलेका चुनौतीलाई पुरानै ढाँचा र शैलीबाट सम्बोधन गर्न नसकिने उल्लेख गरेका उनले नेतृत्व चयनको प्रक्रियालाई समेत लोकतान्त्रिक र प्रतिस्पर्धात्मक बनाउनुपर्ने उनको धारणा राखे ।
नेकपाा एमालेमा आफूले बर्तमान नेतृत्वले वर्तमान चुनौतीको सामना गर्न नसक्ने भएकाले बर्तमान नेतृत्वले नै पत्याएका व्यक्तिलाई कार्यबहाकको जिम्मेवारी दिएर अगाडि बढ्न सुझाव दिएको सुनाए । उनले ६ महिना एमालेको महाधिवेशन गर्न समेत प्रस्ताव गरेका छन् । ‘आजका चुनौतीलाई आजको नेतृत्वले बुझ्न सकेन,’ पाण्डेले भने, ‘जो हुन्छ, नेताले पत्याएका नेतालाई कार्यवाहक दिऔँ भन्ने हो । वडाबाटै निर्वाचित भएर आउने व्यवस्था गरौँ । कसैको पक्षपातमा नलागौँ । जुनसुकै प्रकारको उम्मेदवार बन्न पनि सदस्यबीच भोटको व्यवस्था गरौँ ।’
नेतृत्व परिवर्तनको विषयमा गुनासो मात्रै गरेर नहुने भन्दै पाण्डेले नयाँ मोडल र कार्यशैली अपनाउनुपर्नेमा जोड दिए । अमेरिकामा रहेर काम गरिरहेका युट्युबर टंक दाहालले पोष्ट गरेको उदाहरण भन्दै ‘जो ठूला कूरा गर्छ उसैलाई काम गर भनेर जिम्मेवारी दिँदा भागेको प्रसंग सुनाएका उनले गुनासो गर्नेहरूलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।
उनले भने, ‘गुनासो गरेर हुँदैन । गुनासो गर्नेबाट काम गर्ने बनाउने हो । केही मोडल र तरिका अपनाउनुपर्छ । पुरानै ढंग र ढाँचाले अब पार्टी निर्माणमा काम गर्दैन ।’
कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले अहिलेको सरकार बामपन्थ विरुद्ध योजनाबद्ध रुपमा अगाडि बढेको आरोप लगाए । बृद्धभत्ता रोक्ने देखि विभिन्न खालका बहसहरुले यसको पुष्टि भएको उनको भनाई थियो । नेता पौडेलले सरकार बामपन्थी विरुद्धमा लाग्ने र बामपन्थीहरु एक अर्काको विरुद्ध व्यक्तिगत रुपमै गालीगलौजमा उत्रने प्रबृद्धि सही नभएको सुनाए । बाम एकता र सहकार्यको चर्चा चलिरहेको बेला उनले संस्थागत निर्णय विपरित एकता गरे अर्को पसल खुल्ने टिप्पणी गरे । उनले कमी कम्जोरी सच्याएर बामपन्थीहरु एकताबद्ध भएर अगाडि बढे नेपालमा फेरी पनि बामपन्थी अगाडि बढ्ने उनको धारणा थियो । कुनै व्यक्ति विशेष भए हुन्छ नत्र हुन्न भन्न नहुने भन्दै नेतृत्वलाई खुल्याउने पक्षमा आफूहरु नरहेको र नेतृत्वकै विश्वासमा अगाडि बढ्नुपर्ने उनले धारणा राखे ।

नेकपाका अर्का नेता एवं पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगनाथ खतिवडाले ओरालो लागेको कम्युनिष्टहरुको अवस्थालाई सहकार्य गर्न र कमिकम्जोरीलाई आत्मसात गर्दै एकता तर्फ अगाडि बढाउनका लागि पहल स्वरुप सात वटै प्रदेशमा पुष्पलाल मित्रता केन्द्रले कार्यक्रमलाई जारी राखेको जानकारी दिए । विश्वमा पाँच करोड भन्दा धेरै कम्युनिष्टहरुलाई साम्राज्यवादीहरुले मारेको सुनाए । उनले नेतृत्वको सकारात्मक आलोचना, कार्यकर्ता र समर्थकहरुले पूरा गर्नुपर्ने जिम्मेवारीको विषयमा गम्भिर बहस हुनुपर्ने धारणा राखे ।
मतदाताले मत बदलेको तर मन नबदेलेको सुनाए । कम्युनिष्टहरुको अहिले २३ लाख मत रहेको र यसको संरक्षण गर्न सके अर्को २३ लाख मत ल्याउन समस्या नरहेको उल्लेख गरे । मत ल्याएर र सत्तामा गएर मात्र नहुने रहेछ भन्ने कूरा नेताहरु हेलिकोप्टर चढेर भाग्नुपर्ने अवस्थाबाट पुष्टि भएको उनको तर्क थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष शंकर बरालले बहुदलीय जनबाद र २१ औं सताब्दीको जनवाद सच्याउनुपर्ने र पुष्पलालको सहि नीतिमा अगाडि बढ्नुपर्ने बताए । उनले अब बाम र प्रगतिशिल शक्ति एकजुट भएर वर्तमान सत्ता विरुद्ध आन्दोलन केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो ।
पुष्पलाल केन्द्र एवं नेकपाकी केन्द्रीय सदस्य दिलुकुमारी पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पोखरा महानगरका प्रमुख धनराज आचार्य, नेपाल कम्युनिष्ट पाटी माओवादीकी नेतृ सावित्री दुरा, कम्युनिष्ट नेताहरु केसबहादुर परियार, श्रीनाथ बराल, नवराज शर्मा, तेजकुमारी पौडेल, पूर्ण लामा अनि बाम बुद्धिजिवी डा. गेहेन्द्रश्वर कोइराला र रामराज रेग्मी लगायतले बोलेका थिए ।













