काठमाडौं ।
एसीसी प्रिमियर कपको फाइनलमा यूएई विरुद्ध नेपालले ३१४ रनको चुनौती प्रस्तुत गरेको छ । आसिफ शेखको शतक तथा गुल्शन झाको अर्धशतक मद्दतमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएई विरुद्ध ३१३ रनको बलियो योगफल तयार गरेको हो ।
वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको बलियो योगफल खडा गरेको हो । नेपालका लागि बलियो योगफल खडा गर्न ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेले । १०६ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गर्दै १०२ रन जोडे ।
यस्तै, गुलशन झाले ५२ रनको अर्धशतकीय पारी खेले । अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ रन जोडे । बसिर अहमद १५ रनमा अविजित रहे ।
बलिङतर्फ युएईका इबरार अहमदले चार विकेट लिए । यस्तै, खुजैमा तनवीरले दुई तथा हैदर अली र अदीव उस्मानीले एक–एक विकेट लिए ।
यो खेलको विजेताले २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउने छ ।











