हामी आलाकाँचा हौँला, तर कुहिएका छैनौँ : सांसद खगेन्द्र सुनार

भने, 'ढुक्क हुनु, सुखले बाँच्ने दिन आउँदैछ।’

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सरकारको नेतृत्व र नयाँ राजनीतिक शक्तिमाथि उठिरहेका प्रश्नहरूबारे टिप्पणी गरेका छन् ।

जेनजी सहिद दिवसका अवसरमा जेनजी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद सुनारले बजारमा आलाकाँचा केटाहरु सरकारमा आएको भन्दै हुने आलोचनाको टिप्पणी गरेका हुन् ।

सांसद सुनारले भने, ‘बजारमा हुइँया मच्चाएका छन्, आलाकाँचा केटाहरू आएका छन्, संसद्लाई कतै गलत बाटोमा लिन्छन् कि!हामी आला हौँला, काँचा हौँला, तर कुहिएका छैनौँ आमा! ढुक्क हुनु, सुखले बाँच्ने दिन आउँदैछ।’

वर्तमान सरकार सुशासन कायम गर्न स्पष्ट रहेको दाबी गर्दै उनले भ्रष्टाचारविरुद्ध कसरी लड्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए।

उनले भने, ‘जसले १ रुपैयाँ पनि भ्रष्टाचार गरेको छ, प्रत्येकको कठालो समातेर कारबाही हुनेछ। सबै ठाउँमा हिसाब हुनेछ, एक एक गनेर हिसाब हुनेछ, खनखनी गनेर हिसाब हुनेछ।’

यस्तै जेनजी आन्दोलनका सहिदहरूको बलिदान खेर जान नदिने बताएका छन्।सुशासनका पक्षमा आवाज उठाउँदा ज्यान गुमाएका सहिदहरूको बलिदान खेर जान नदिने बताएका हुन्।

सहिदकी आमालाई ढाडस दिँदै उनले भने, ‘आमा तिमीलाई लागेको होला मेरो गर्भबाट जन्मेको छोरो मर्यो, म एक्लो परेँ। होइन आमा, तिम्रो छोरो मरेको होइन। तिम्रो छोरो यो समाजमा, यो देशमा एउटा बिउ बनेर रोपिएको छ।’

सहिदका कारण नै देशमा नयाँ सुशासनको आधार बनेको उल्लेख गर्दै उनले थपे, ‘तिम्रो छोरो बिउ बनेर रोपिएपछि नयाँ सुशासनका वृक्षहरू उम्रिएका हुन्। तिम्रो छोरो ढल्यो, यो देश उठ्यो। तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो।’

आन्दोलनका सहभागी, सहिद परिवार र घाइतेहरूलाई निराश नहुन आग्रह गर्दै उनले रास्वपाको नेतृत्वमा बनेको सरकारले उनीहरूका माग पूरा गर्ने र सम्पूर्ण जिम्मेवारी लिने आश्वासन दिए।

  • २३ भाद्र २०८३, मंगलवार १६:१६ प्रकाशित