काठमाडौं ।
गृहमन्त्री सुधन गुरुङले काम नगरी चिल्ला भाषण गर्ने संस्कारलाई परिवर्तन गर्न आफुहरु सरकारमा आएको बताएका छन् ।
जेनजी शहीदहरूको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।यसअघि धेरै नेताहरूले चिल्ला भाषण गरेको र आफूहरू त्यही संस्कार परिवर्तन गर्नका लागि सरकारमा आएको जिकिर उनले गरे ।
‘कत्रा कत्रा नेताहरूले जमानादेखि भाषण गरेका हुन् । जमानादेखि चिल्लाचिल्ला भाषण हामीले देखिसकेको हो । हाम्रो आमाबुवाले भोगिसकेको पनि हो,’ गृहमन्त्री गुरुङले भने, ‘हामीले त्यसको रिजल्ट हामीले भोग्नुपरेको थियो । अहिले काम गर्ने नेताहरू चुन्नुभएको छ ।’
गृहमन्त्री गुरुङले नागरिकलाई दुस्ख नहोस् भन्नका लागि आफू नेतृत्वको सरकारले निरन्तर काम गरिरहेको जिकिर गरेका छन् ।
उनले थप स्पष्ट पार्दै भने, ‘हामीलाई ५ बजे कतिबेला घर जानुपर्छ भनेर हतार छैन । आज हामीले कति जना नागरिकलाई दुस्ख नहुन दिनका लागि काम गर्यौं भनेर मात्रै हामी काम गर्छौं । त्यो घडी मात्रै हामी हेर्छौं । जब थाक्छौं तबमात्रै सुत्छौं । घडीको टिकटिकबाट हामी सुत्नेवाला छैनौं ।’
यस्तै उनले देशमा अब अर्को गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने बताएका छन् । उनले आफू मन्त्री, दाइ, भाइ, छोरा रहेको बताउँदै गोली चलेमात्रै आफू ढल्ने र देशमा अहिले गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने जिकिर गरे ।
‘तपाईंको यो मन्त्री, दाई भाई छोरा एउटै कुराले ढल्छ । त्यो भनेको अर्को गोली चल्नुपर्छ । अर्को गोली चल्नका लागि यो देशमा कसैले हिम्मत गर्न सक्दैन । म तपाईंहरूलाई विश्वास गराउन चाहन्छु,’ उनले भने ।
यस्तै उनले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर जगाइराख्ने बताएका छन् ।
पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ– सुशासन के हुन्छ भनेर । त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु,’ गृहमन्त्री गुरुङले भने ।











