काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश गम्भीर सङ्कटमा परेको भन्दै सबैखाले आग्रह–पूर्वाग्रह त्यागेर बृहत् कम्युनिस्ट एकतामा आउन आह्वान गरेका छन्।
मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले विगतमा सहकार्य गरेका सबै शीर्ष वामपन्थी नेताहरूलाई यस्तो अपिल गरेका हुन्।
एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘म यहीँबाट कमरेड केपी ओली, मोहनविक्रम सिंह, मोहन वैद्य लगायत विगतमा सहकार्य गरेका सबै कमरेडहरूलाई आह्वान गर्न चाहन्छु– देश सङ्कटमा छ, त्यसैले सबैखाले आग्रह र पूर्वाग्रहबाट मुक्त भएर एकताको यो महाअभियानमा जुटौँ।’
सम्बोधनका क्रममा प्रचण्डले विगतका एकता प्रयासहरूको स्मरण गर्दै आफूले शान्ति प्रक्रियामा आएदेखि नै तत्कालीन नेकपा एमालेसँग एकताका लागि पटक–पटक पहल गरेको बताए।












