काठमाडौं ।
पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जाने भएका छन् ।
पार्टीको केन्द्रीय संयोजन समितिको आइतबार बसेको बैठकमा अधिकांश नेताहरूले विपद्को बेला पार्टी नेतृत्व फिल्डमा देखिनुपर्ने सुझावको आधारमा प्रचण्ड र नेपाल प्रभावित क्षेत्र जाने तयारी गरेका हुन् ।
भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति पुगेको थियो । बाढीले ठुलो विनाश निम्त्याएसँग नेकपाले केन्द्रीय संयोजन समितिको आकस्मिक बैठक बोलाएर खोजी, उद्धार र राहत वितरणमा खटिने सिङ्गो पार्टी पङ्क्तिलाई निर्देशन दिएको थियो ।
बागमती प्रदेशका इन्चार्ज डा।गङ्गालाल तुलाधरको संयोजकत्वमा खोज, उद्धार समन्वय समिति गठन गरेको थियो । बाढी आएकै दिन सङ्गठन विभाग प्रमुख वर्षमान पुन, नेता नन्दकिशोर पुन पासाङ लगायत नेताहरू नुवाकोटको सदरमुकाम पुगेका थिए ।
बागमती प्रदेशका अर्थ मामिला मन्त्री सरल सहयात्री पौडेल, पूर्वआन्तरिक मामिला मन्त्री गङ्गानारायण श्रेष्ठ लगायत नेताहरू भदौ ११ गते नुवाकोट पुगेका थिए । बैठकले बाढी प्रभावित क्षेत्रमा जान संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई सुझाव दिइएको नेता गङ्गाले जानकारी दिए ।
‘हामीहरू बाढी प्रभावित क्षेत्रमा पुगेर त्यहाँको वस्तुगत अवस्था बुझ्यौँ । पीडितहरूको गुनासा, समस्या र आवश्यकताबारे जानकारी लियौँ । सरकारका प्रधानमन्त्री, अन्य दलका नेतृत्व पनि प्रभावित क्षेत्रमा गएपछि हाम्रो पार्टीको उपस्थिति पनि देखिनुपर्छ भन्ने सुझावका आधारमा संयोजक र सहसंयोजक फिल्डमा जाने तयारी गर्नुभएको छ’, उनले भने ।
प्रभावित क्षेत्र नुवाकोटमा प्रधानमन्त्री बालेन्द्र शाह, सरकारका मन्त्रीहरू, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपालकी कांग्रेसका सभापति गगन थापा गएका थिए ।











