पोखरेली व्यवसायी नारायण पौडेल आबद्ध तीन संस्थाद्वारा प्रधानमन्त्री उद्धार कोषमा ४१ लाख जम्मा

केन्द्रभाग मिडिया

पोखरा

पोखरेली व्यवसायी नारायणप्रसाद पौडेल सम्बद्ध ३ संस्थाले बाढी पीडितका लागि ४१ लाखभन्दा बढी रकम सहयोग गरेको छ ।

पौडेल आबद्ध अटोवेज प्रालि परिवार, प्रतिभा माध्यमिक विद्यालय र गोविन्द–कलावती फाउन्डेसनले कुल ४१ लाख ११ हजार १ सय ११ रुपैयाँ बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रदान गरेको हो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा अटोवेज प्रा।लि। परिवार र भारतको बुल मसिन्स प्रालिले २५ लाख रुपैयाँ जम्मा गरेको छ ।त्यस्तै, पोखरा नादीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुले ११ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेको छ ।

पौडेल सञ्चालक रहेको गोविन्द–कलावती फाउन्डेसनले पनि ५ लाख रुपैयाँ सहयोग गरेको छ । भोटेकोशीको बाढीका कारण संकटमा फसेका नागरिकको उद्धार तथा राहतमा सघाउ पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको पोखरेली व्यवसायी नारायणप्रसाद पौडेलले बताए ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी पीडितको दुःखमा साथ दिन सहयोग गरिएको उनको भनाई छ । पौडेलले निजी क्षेत्र, विभिन्न संघ संस्था र आम नागरिक एकजुट भएर प्रभावित परिवारको उद्धार र पुनःस्थापनामा लाग्न आह्वानसमेत गरे ।

संस्थाहरुले बाढीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना समेत प्रकट गरेका छन् ।

  • १७ भाद्र २०८३, बुधबार १५:४६ प्रकाशित