काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा सरकारले गरेको ढिलाइ अमानवीय र गम्भीर भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले विपदमा सरकार सरकारको साथमा रहने भए पनि सरकारले समन्वय गर्न नसकेको र उद्धारमा गम्भीर नभएको आरोप लगाएका हुन् । उनले सरकार फेसबुकमा अल्झिएको भन्दै समन्वय गरेर र सबैको साथ लिएर काम गर्न नसकेको बताए ।
नेता आङदेम्बेले अझै पनि ६२ जिल्लाका ३९१६ नागरिक सम्पर्कविहीन भएको विवरण आएकोप्रति उनले सरकारको ध्यानाकर्षण गराए । ‘खोज तथा उद्धार अहिले सबैभन्दा बढी खड्किएको विषय छ । अझै पनि ६२ जिल्लाका ३९१६ नागरिक सम्पर्कविहीन भएको विवरण आएको छ,’ उनले बैठकमा भने, ‘समय क्रममा यो अझै बढ्न सक्छ । समय क्रममा यो अझै बढ्न सक्छ । सुरुङभित्र फसेकाका खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो ।’
सुरुदेखि नै सरकारी, निजी र आवश्यक परेको खण्डमा अन्तर्राष्ट्रिय प्रविधि र दक्ष टिमसहित उद्धारमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । आङदेम्बेले शव व्यवस्थापनबारे उठेका प्रश्नमा घर घरमा शव पठाइदिउँ भन्ने रास्वपा नेताहरूको जवाफबारे प्रश्न गर्दै राहत वितरणका सवालमा सङ्घ सरकारले जोहो गर्नुपर्ने, प्रदेशले समन्वय गर्नुपर्ने र वितरण स्थानीय तहले गर्नुपर्ने बताए ।
साथै, उनले जलवायु परिवर्तनको जोखिमको स्वरूप परिवर्तन भइरहेको भन्दै विपद्पछि उद्दार राहत खोज्ने मोडल परिवर्तन गर्नुपर्ने बताए ।
उनले सरकार नागरिकको प्राण जोगाउनभन्दा फेसबुक र प्रचारबाजीमा बढी केन्द्रित भएको भन्दै आलोचना गरे ।












