रसुवा बाढीबाट प्रभावित स्थानीय तहलाई थप ६ करोड ७५ लाख दिने निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित स्थानीय तहलाई राहत तथा विपद् व्यवस्थापनका लागि थप ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यसअघि उपलब्ध गराइएको ६ करोड ७५ लाख रुपैयाँमा थप ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको हो।

यससँगै प्रभावित स्थानीय तहका लागि उपलब्ध गराइने कुल रकम १३ करोड ५० लाख रुपैयाँ पुगेको छ।

निर्णयअनुसार रसुवाका चार स्थानीय तहलाई ४ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइनेछ। उत्तरगया गाउँपालिकालाई १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकालाई २ करोड, कालिका गाउँपालिकालाई ६० लाख र आमाछोदिङमो गाउँपालिकालाई ४० लाख रुपैयाँ छुट्याइएको छ।

त्यस्तै, नुवाकोटका चार स्थानीय तहलाई ६ करोड रुपैयाँ विनियोजन गरिएको छ। विदुर नगरपालिकालाई ३ करोड, बेलकोटगढी नगरपालिकालाई १ करोड ५० लाख, किस्पाङ गाउँपालिकालाई ५० लाख र तारकेश्वर गाउँपालिकालाई १ करोड रुपैयाँ उपलब्ध गराइनेछ।

धादिङका चार स्थानीय तहलाई १ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ । गल्छी गाउँपालिकालाई ६० लाख, सिद्धलेक गाउँपालिकालाई ४० लाख, गजुरी गाउँपालिकालाई ४० लाख र बेनिघाट रोराङ गाउँपालिकालाई ४० लाख रुपैयाँ दिइनेछ।

यसैगरी गोरखाको गण्डकी गाउँपालिकालाई ४० लाख तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकालाई ४०–४० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि राहत, खोज तथा उद्धार र पुनर्स्थापनाका काम जारी छन्।

  • १७ भाद्र २०८३, बुधबार ११:४३ प्रकाशित