काठमाडौं ।
रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म भेटिने शवको संख्या एक हजार नाघेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलवार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा परी निधन भएका १ हजार ३ जनाको शव फेला परेको हो।
विभिन्न जिल्लाबाट प्राप्त तथ्यांकअनुसार बाढीका कारण हालसम्म चितवनमा ३ सय २१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ। यसमा विभिन्न मानव अङ्गहरूसमेत समावेश छन्।
विपद्मा परी हालसम्म २७९ जना घाइते भएका छन्। घाइतेमध्ये १६८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने नेपाली सेनामार्फत २ हजार ७४० जनाको स्वास्थ्य उपचार गरिएको छ।
बाढीका कारण हालसम्म ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५, अध्यागमनका ३, क्वारेन्टाइन कार्यालयका ३ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना कर्मचारी रहेका छन्।
प्राधिकरणका अनुसार रसुवाबाट करिब ८६५, नुवाकोटबाट १ हजार ५५८ र विभिन्न जलविद्युत् आयोजनाबाट ६३९ जना सम्पर्कविहीन छन्। बेपत्ता हुनेहरूमा ५८३ विदेशी नागरिक र विदेशी पर्यटकसँगै गएका १६४ नेपाली नागरिकसमेत रहेका छन्।
प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि २१ हजार ३१४ सुरक्षाकर्मी परिचालित छन्। यसमा नेपाली सेनाका ९ हजार १९९, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी सक्रिय छन्।
हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ।












