काठमाडौं।
साताको पहिलो दिन सोमबार पनि धितोपत्र बजार (नेप्से) मा दोहोरो अङ्कको ठुलो गिरावट देखिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसूचक ४७.२९ अङ्क अर्थात् १.८४ प्रतिशतले घटेर २५१०.०१ विन्दुमा ओर्लिएको छ। रसुवा लगायतका क्षेत्रमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भइरहँदा त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर लगानीकर्ताको मनोबलमा पनि देखिएको हो।
आज दिनभरको कारोबारबाट ९० लाख ६५ हजार कित्ता सेयर किनबेच भएको छ। जसबाट कुल ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा सहभागी कम्पनीहरूमध्ये जम्मा १३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २६३ कम्पनीको मूल्यमा गिरावट आएको छ। २ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।












