विराटनगर ।
सप्तकोशी नदीमा पानीको सतह बढ्न थालेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन र नदी किनारमा गरिने जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको बताएका छन् ।
दिउँसो ४ः२० बजेको विवरण अनुसार कोशी ब्यारेजमा पानीको बहाव १ लाख ७६ हजार ८ सय क्यूसेक पुगेको छ, जुन खतराको तह हो ।
नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको र पश्चिमतिर कटान सुरु भएका कारण यसलाई खतराको सूचीमा राखिएको छ । हाल कोशी ब्यारेजका ५२ वटा ढोकामध्ये १८ वटा खोलिएका छन् ।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन भनिएको छ । नदीमा माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउने जस्ता गतिविधिहरू पूर्ण रूपमा निषेध गरिएको छ ।











