काठमाडौं ।
रसुवा बाढीमा परेका मध्ये १५७ जनाको शव फेला पारेको छ । बुधबार रातिसम्मको प्रहरी विवरण अनुसार ७ वटा जिल्लामा गरेर १५७ जनाको शव फेला परेको हो ।
रसुवामा ३, नुवाकोटमा १३ धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
बाढीपछि उद्धारमा खटिएका सुरक्षाकर्मीका सहकर्मी पनि हराइरहेका छन् । नेपाली सेनाका क्याप्टेनसहित ४४ जना, सशस्त्र प्रहरीका इन्सपेक्टरसहित १३ जना र नेपाल प्रहरीका २८ जना बुधबार बेलुकासम्म सम्पर्कमा छैनन् ।
सम्पर्कविहीन रहेका ४४ जना सैनिक पनि रसुवाका हाइड्रोपावर र लाङटाङ राष्ट्रिय निकुन्जमा खटिएका थिए । यस्तै ६ वटा कार्यालयका २८ जना प्रहरी पनि सम्पर्कमा छैनन् । २३ जना कार्यरत रहेको इलाका प्रहरी कार्यालय टिमुरेका १३ जना प्रहरी मात्रै सम्पर्कमा आए । बाँकी १० जनाको अत्तोपत्तो छैन । प्रहरीचौकी रसुवागढीमा ९ जना कार्यरत थिए । पूरै कार्यालयका एक जना मात्रै प्रहरी सम्पर्कमा छन् । बाढी आएपछि भाग्दाभाग्दै अरु कहाँ छुटे, उनलाई पनि थाहा छैन ।
८ जना कार्यरत रहेको स्याफ्रुबेसी प्रहरीचौकीका तीन, अस्थायी प्रहरीचौकी मैलुङका ५ जना पनि सम्पर्कमा छैनन् । ८ जना कार्यरत रहेका मैलुङका तीन जना मात्रै संगठनको सम्पर्कमा छन् । १० जना कार्यरत रहेको बेत्रावती र ६ जना कार्यरत रहेको हाकु प्रहरी चौकीका पनि एक एक प्रहरीको खबर थाहा छैन । बेत्रावतीका ९ जना र हाकुका ५ जना भने सम्पर्कमा रहेको प्रहरी हेडक्वार्टरले जनाएको छ ।
सशस्त्र प्रहरीको बीओपी टिम्मुरेका इन्सपेक्टरसहित ९ जना बेपत्ता छन् । मैलुङ सुरक्षा बेसका ४ जना सशस्त्र प्रहरी पनि सम्पर्कमा छैनन् । केहीको घाइते अवस्थामा उद्धार गरिएको छ ।
कति अझै उद्धारको पर्खाइमा छन् । हेलिकप्टरमा पुगे पनि सबैको उद्धार हुने अवस्था छैन । सडकसम्पर्क टुट्दा उद्धारका लागि पर्याप्त सुरक्षाकर्मी पुग्न सकेनन् ।
बाढी प्रभावित क्षेत्रमा ३९१ जना विदेशी पर्यटक बेपत्ता छन् । स्वदेशी पर्यटक पनि ९३ जना बेपत्ता रहेको प्रहरीको तथ्यांक छ । रसुवागढी भन्सार र अध्यागमनका पनि केही कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । तर यकिन विवरण भने अझै प्रस्ट छैन । ८ वटा बैंकका २६ जना कर्मचारी पनि सम्पर्कमा छैनन् । सम्पर्कविहीन रहेकाहरूको विवरण संकलन भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
खोजी तथा उद्धारमा ६५६ जना प्रहरी परिचालन गरिएको छ । ११ सय भन्दाबढी सशस्त्र प्रहरी र सयौँको संख्यामा सेना खटिएका छन् ।
बुधबार रातिसम्म खोजतलास गरिरहेका सुरक्षाकर्मीले अहिले (बिहीबार) बिहानैबाट खोजी र उद्धारमा लागेका छन् ।












