काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रसुवाको भोटेकोसी नदीमा आएको अप्रत्याशित र भीषण बाढी प्रभावितको उद्धार र राहतमा जुट्न आग्रह गरेका छन् ।
बाढीबाट टिमुरे, स्याफ्रुबेसी लगायत आसपासका क्षेत्रमा भएको भीषण क्षतिको प्रारम्भिक खबरले मर्माहत भएको पनि अध्यक्ष लिङदेनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘क्षतिको पूर्ण विवरण प्राप्त नभइसकेको यस्तो संवेदनशील घडीमा सरकारका सम्पूर्ण संयन्त्रहरूलाई उच्चतम सतर्कता र तत्परताका साथ परिचालन गरी मानिसको जीवन रक्षा, बेपत्ताको खोजी, उद्धार, उपचार र तत्काल राहतलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्दछु’, राप्रपाले भनेको छ ।
साथै विपद्को घडीमा सरकारको उपस्थिति पीडित नागरिकको घरदैलोमा अनुभूति हुने गरी देखिनुपर्ने भन्दै उद्धार र राहतमा तत्काल सक्रिय भई थप मानवीय क्षति हुन नदिन नेपाल सरकारलाई अग्रसरता लिई समन्वयात्मक रूपमा राज्यका सबै संयन्त्र परिचालित गर्न लिङ्देनको आग्रह छ । विपद्को यस घडीमा राप्रपा सरकारको साथमा रहने पनि जनाएको छ ।











