बाढीमा ज्यान गुमाएका परिवारलाई सरकारले तत्काल आर्थिक सहायता उपलब्ध गराउने

केन्द्रभाग मिडिया

काठमाडौं।

सरकारले रसुवागढी र भोटेकोशी नदीको तटीय क्षेत्रमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेका परिवारलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मृतकका परिवारलाई प्रचलित कानुन बमोजिमको राहत तथा क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । सरकारले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा परेका परिवारलाई आर्थिक मलमपट्टि लगाउन यो कदम चालेको हो ।

क्षतिपूर्ति रकमका साथै बाढीमा घाइते भएकाहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने र घरबास गुमाएकाहरूलाई सुरक्षित स्थानमा गाँसबासको व्यवस्था मिलाउने जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको छ ।

पुनर्निर्माण र दीर्घकालीन राहतका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई समेत निर्देशन दिइएको प्रवक्ता पोखरेलले बताए । सरकारले यस विपद्लाई ध्यानमा राख्दै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलाई संकटग्रस्त क्षेत्र समेत घोषणा गरिसकेको छ ।

  • १० भाद्र २०८३, बुधबार १५:०५ प्रकाशित