काठमाडौं ।
प्रतिनिधिसभा सदस्य मोहन आचार्यले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै बाढीलाई राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार तथा राहतमा जुट्न सरकारसँग आग्रह गरेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै आचार्यले बाढीले बस्ती, पक्की पुल, जलविद्युत् आयोजनालगायतका संरचनामा क्षति पुर्याएको बताए। उनले ठूलो संख्यामा मानवीय क्षति भएको उल्लेख गर्दै विपद्को यस घडीमा सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।
आचार्यले प्रभावित क्षेत्रमा तत्काल राज्यका सबै संयन्त्र परिचालन गरी खोजी, उद्धार, उपचार तथा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी र अर्का सांसद् बसुमाया तामाङले पनि भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका लागि सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्ने माग गरे।
उनीहरूले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै प्रभावित क्षेत्रमा आवश्यक मानवीय सहायता तत्काल पुर्याउन सरकारसँग आग्रह गरे।
सरकारले विपद्बाट प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको प्रवक्ता सस्मित पोखरेलले बताए।











