काठमाडौं।
प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेकपा एमालेकी सांसद साजिता सिद्धिकीको भनाइप्रति नियमापत्ति जनाएकी छन् ।
बुधबारको बैठकमा आकस्मिक ससमयमा सांसद सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर संसद्मा आएको भनी टिप्पणी गरेपछि सांसद तामाङले उठेर नियमापत्ति जनाएकी हुन्।
सांसद तामाङले आफूहरू कुनै संयोग वा चिट्टाबाट नभई जनताको अमूल्य मतबाट निर्वाचित भएर आएको स्पष्ट पारिन्। ‘चिठ्ठामा परेर आएको भन्नुभयो, तर तपाईंहरूजस्तै हामीलाई पनि जनताले जिताएर पठाएको हो,’ तामाङले आक्रोश व्यक्त गर्दै भनिन्, ‘हामी यसरी अपमानजनक शब्द सुन्न यहाँ आएका होइनौँ।’
उनले संसद्मा बोल्दा तथ्यमा आधारित भएर बोल्न आग्रह गर्दै सिद्धिकीको दाबीमाथि प्रमाण माग गरिन्। ‘हामी चिट्टाबाट आएको भन्ने कुराको प्रमाण के हो ? हामीलाई प्रमाण चाहियो,’ उनले प्रश्न गरिन्।
सांसद तामाङले सांसद सिद्धिकीले प्रयोग गरेको ‘चिट्टामा परेर आएको’ भन्ने शब्द असंसदीय र अपमानजनक भएको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन सभामुखसँग माग गरिन्।












