बागमतीका मुख्यमन्त्री बानियाँले गरे राजीनामाको घोषणा

केन्द्रभाग मिडिया

हेटौँडा ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सोमबार दिउँसो बसेको बागमती प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मतको प्रक्रिया अघि नबढाई पद त्याग गर्ने निर्णय गरेका हुन् । उनले प्रदेशको राजनीतिक स्थायित्वलाई ध्यानमा राख्दै राजीनामा दिएको बताए । उनले राजनीतिक अस्थिरता कायम राख्न नहुने भन्दै नयाँ सरकारका लागि मार्ग प्रशस्त गरेको बताए ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार जोगाउन कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर, मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई सांसद गरी ३८ सांसद मात्र खुलेका थिए। सरकार जोगाउन आवश्यक थप १५ सांसदको समर्थन जुटाउन नसकेपछि उनले राजीनामा घोषणा गरेका हुन्।

संविधानअनुसार समर्थन फिर्ता भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यताअनुसार मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने तयारी गरेका थिए। तर, बहुमत सुनिश्चित हुन नसकेपछि उनले प्रदेश सभा बैठकमै राजीनामाको घोषणा गरेका हुन्।

  • १ भाद्र २०८३, सोमबार १५:०१ प्रकाशित