बुटवल ।
लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गतको बैठक भदौ १ गते सोमबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।
भोलि बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।
उनका अनुसार बैठकको सुरुवातमा प्रदेश प्रमुखबाट प्राप्त पत्रहरू सभामुखले प्रदेशसभामा पढेर सुनाउनेछन् । त्यसपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रक्रिया अघि बढ्नेछ ।
नेपाली कांग्रेसले नेकपा एमालेसँगको सहकार्य तोड्दै सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा बनेको सत्ता समीकरणअनुसार लुम्बिनीमा पनि एमालेसहितका दलले सरकारलाई समर्थन गर्ने तयारी गरेका छन् ।
एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने तयारी गरेका छन् । प्रदेशसभामा यी दलहरूको समर्थन कायम रहे मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्ने अवस्था देखिएको छ ।











