पाल्पा ।
पाल्पाको तिनाउ गाउँपालिका-४ चिउरी डाँडास्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।
झुम्सा–सत्यवती-धसमिघा सडक खण्डमा माझगढी गाउँपालिका-५ बंसीङ डाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप सोमबार बिहान करिब ७:०० बजे अनियन्त्रित भई दुर्घटना भएको हो ।
सडकबाट करिब ११० मिटर तल खसेको जिप दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभान पाल्पाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगी घाइतेहरूको उद्धार गरेको थियो ।
दुर्घटनामा जिपका चालक देवकुमार घर्तीसहित अन्य १० जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर र ९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देही पठाइएको छ। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ।












