रास्वपाले नागरिक, नीति र नेतृत्व कार्यक्रम सुरु गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ दल रास्वपाले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने भएको छ। आइतबार सहमहामन्त्री असिम शाहले विज्ञप्ति जारी गर्दै भदौ महिनाबाट कार्यक्रम सुरु गर्ने जानकारी दिएका हुन्।

कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनेछन्।

यस कार्यक्रमले भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास गरिएको शाहको भनाइ छ ।

यो कार्यक्रम नागरिक संवाद र नेतृत्व संवाद गरी दुई चरणमा सञ्चालन हुने उनले बताएका छन्। नागरिक संवाद साँझ ५ देखि ६ बजेसम्म हुनेछ। यसमा मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्ने छन्।

नेतृत्व संवाद साँझ ६ बजेपछि मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बस्नेछ।

  • २४ श्रावण २०८३, आईतवार १६:३२ प्रकाशित